संसद् दलीय भागबन्डाको बन्धक भयो : रास्वपा
सोमबार बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाए।
काठमाडौं, साउन २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको उनीहरुको आरोप छ।
सोमबार बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाए। रास्वपा सभापति रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्।
‘कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ। जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ,’ उनले लेखेका छन्, ‘तर संसद् चल्दैन, बार्गेनिङ चल्छ।’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद् अवरुद्ध हुँदै आएको भन्दै आपत्ति जनाए। ‘संसदमा महत्त्वपूर्ण विधेयकमाथिको छलफल हुन सकेको छैन, जनताको मुद्दामाथि बहस भइरहेको छैन,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका नाममा तीन पार्टीले सदनलाई बन्धक बनाउने कामको रास्वपाले विरोध गर्छ।’
यस्तै, रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनताको मुद्दामा सत्तापक्ष र प्रतिपक्ष गैरजिम्मेवार भएको बताए। उनले संसद् अवरुद्ध गरेर प्रतिपक्ष र सत्तापक्ष आफैँ मिल्ने भेट्ने गरिरहेको बताउँदै सदन सञ्चालनको खर्च, सांसदको समय र जनताको मुद्दामा जिम्मेवार नभएको बताए।











