संसद्को अवरोधप्रति सभामुख घिमिरे भन्छन्– जनताका आवाज रोकियो, सहमतिको विकल्प छैन
उनले मंगलबार दिउँसो ३ बजे संसद् बैठक सुरु हुनुभन्दा पहिले नै शीर्ष नेताहरूबीच सहमति जुट्ने बताए।
काठमाडौं, साउन २२ : सभामुख देवराज घिमिरले निरन्तर संसद अवरुद्ध हुँदा जनताको अवाज रोकिएको बताएका छन्। संसद्को अवरोध हटाउने सोमबार २ पटक घिमिरेले शीर्ष नेताहरुसँग छलफल गरेका थिए, तर दुवै बैठक निष्कर्षबिहीन भएको थियो।
‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। माननीयहरुले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन,’ शीर्ष नेताहरुसँगको छलफलपछि उनले भने।
सभामुख घिमिरेले मंगलबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सहमति जुट्ने अपेक्षा आफूले गरेको बताए। उनले मंगलबार दिउँसो ३ बजे संसद् बैठक सुरु हुनुभन्दा पहिले नै शीर्ष नेताहरूबीच सहमति जुट्ने बताए।
संसद् चल्न नसक्दा जनताका आवाज रोकिएको भन्दै उनले सहमतिको विकल्प नरहेको बताए। ‘भोलि संसद् बैठक अगावै दलहरुबीच सहमति हुने आशा छ । सहमतिको विकल्प छैन,’ उनले भने, ‘मैले अधितकम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु।’
बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेको बताउँदै सभामुख घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ।
सभामुख घिमिरेले संसद् खुलाउने सम्बन्धमा आफूले दलहरुबीच आपसी विश्वास, एकता र सहकार्य कायम गर्न पहल गर्दै आएको बताए । यही अनुरुप आफूले सूचना टाँसेर पटक बैठक स्थगित बताउँदै उनले सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा आफू नभएको बताए।











