‘गत वर्ष नदेखिएका स्थानमा याे वर्ष डेंगी संक्रमण धेरै’
स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगी संक्रमणको महामारी निश्चिीत स्थानमा दुई–तीन वर्षमा दोहरीने देखिएको बताए।
काठमाडाैं, साउन २२ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरुमा यस वर्ष संक्रमण धेरै देखिएको जनाएको छ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगी संक्रमणको महामारी निश्चित स्थानमा दुई–तीन वर्षमा दोहरीने देखिएको बताए।
७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीको रुप लिनेसक्ने उनले बताए।
गत वर्ष काठमाडौं उपत्यका, हेटौडा, चितवनमा डेंगीले महामारीको रुप लिएको थियो। यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ।
साथै उनले वर्षौसम्म डेंगी संक्रमण देखिरहन सक्ने चुनौती रहेको बताए उनले ‘डेंगी नियन्त्रणः खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताए।
त्यस्तै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताए।
२०६१ मा पहिलो पटक डेङ्गुका बिरामी देखा परेपछि प्रत्येक वर्ष क्रमशः यस्ता सङ्क्रमित बढ्दै गएको उनको भनाइ छ। नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए।











