Kathmandu Press

मुग्लिन-मलेखु सडक विस्तार थालियो

यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ। मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए।
मुग्लिन-मलेखु सडक विस्तार थालियो

काठमाडाैं, साउन २२ : मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ। आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो। 

यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ। मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। उनान्चालीस किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गरिरहेको कार्कीले बताए।

पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ। शर्मा जेडआइसिजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडकखण्डको काम तीव्रगतिमा गरिरहेको बताउनुभयो। उहाँले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताए। 'वर्षाले असर नगर्ने ठाउँमा काम भइरहेको छ,' उनले भने, 'पहिरो नजाने ठाउँमा भित्तो काट्ने काम भइरहेको छ।' 

सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको छ। 'निर्माण सुरु गरेदेखि काम रोकिएको छैन। बर्खामा त काम गरिरहेका छौँ। लक्ष्य अगावै निर्माणको काम सक्ने योजना छ,' उनले भने। उनले सडक निर्माणका क्रममा वन र विद्युत्को समस्या नआएर समयमै काम सम्पन्न हुने बताउनुभयो।  चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ। सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ। 

बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए। बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ। यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ। काम पनि सँगै सुरु भइसकेको छ। मलेखुसम्म छ पुल निर्माण हुनेछन्। गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन्।

यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन्। मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन्। आयोजनाको यो खण्ड रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो। केही ठाउँमा रुख काट्न बाँकी छ। यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन्। 

'यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ,’ आयोजना प्रमुख कार्कीले भने, 'पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना रहुन्छ।' सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ। 

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ। नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ। विश्व बैंकको आर्थिक सहयोगमा उक्त राजमार्ग विस्तारको काम थालिएको हो। यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो। 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्