Kathmandu Press

डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. आचार्यको उम्मेदवारी

नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो।
डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. आचार्यको उम्मेदवारी

काठमाडौं, साउन २२ : विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्। 

नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो। दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन्। उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ। 

नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउन पत्राचारसमेत गरिसकेको छ। दक्षिण पूर्वी एशियामा नेपाल र बङ्गलादेशसँगै भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र छन्।

आचार्य विगत ३० वर्षदेखि विश्वस्वास्थ्य सङ्गठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गर्दै आएका छन्। आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ।

'दक्षिण पूर्वी एशियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसङ्ख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छु,' डा आचार्यले भने, 'त्यसबाहेक विश्वव्यापी प्राथमिक स्वास्थ्य सेवामा बलियो र समावेशी पहुँच स्थापित गर्दै दिगो विकासका लक्ष्य हासिल गर्नुलाई पनि प्राथमिकतामा राखेको छु।'

साथै कोरोना महामारी, प्राकृतिक प्रकोपलगायतका विपद्बाट भविष्यमा उत्पन्न हुनसक्ने समस्या समाधानका लागि बलियो स्वास्थ्य सेवाको सुनिश्चितता उपलब्ध गराउनु पनि आफ्नो प्राथमिक रहेको उनको भनाइ छ।

‘वान डब्ल्यूएचओ’ अभियानअन्तर्गत राष्ट्रिय–क्षेत्रीय–मुख्यालयबीचको प्रभावकारी सञ्चारमार्फत स्वास्थ्य सेवाको पहुँचलाई अधिकारमुखी, जनमुखी, लैङ्गिक उत्तरदायित्व बनाउनु आवश्यक रहेको उनकाे धारणा छ।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्