१२ जिल्ला महिला सभापति हटाइएकाेमा आपत्ति, समानान्तर समिति बनाउने चेतावनी
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २० केन्द्रीय सदस्यले जिल्ला सभापतिलाई हटाउने निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने चेतावनी दिएका छन्।
काठमाडाैं, साउन २१ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको केन्द्रीय नेतृत्वले विधान विपरीत १२ जिल्ला सभापतिलाई हटाएको भन्दै इतर पक्षले आपत्ति जनाएको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २० केन्द्रीय सदस्यले जिल्ला सभापतिलाई हटाउने निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने चेतावनी दिएका छन्।
महिला संघमा लामो समयसम्म संगठनमा काम गरेका नेता कार्यकर्तालाई पाखा लगाउने उदेश्यले कसैको निहित स्वार्थ पुरा गर्न महिला संघम विग्रह ल्याइएको उनीहरुको आरोप छ।
उनीहरुले तीन दिन भित्र उक्त निर्णय सच्याउन अल्टिमेटमसमेत दिएका छन्। विधानविपरीत काम गरेको भन्दै संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्नुपर्ने केन्द्रीय सदस्य रिता शाहीले बताइन्। उनले यस विषयमा पार्टीसभापतिलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको बताए।
संघकी अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारमा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाइ हटाएकी थिइन्।











