टिआरसी विधेयक रोक्न एमालेको दोहोरो भूमिका : प्रधानमन्त्री
सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले ‘ब्रिफिङ’ का क्रममा यस्तो भनाइ राखेका हुन्।
काठमाडौं, साउन २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय (टीआरसी) को विधेयक रोक्ने योजनामा रहेको बताएका छन्। उनले एमालेले संसद्मा दोहोरो भूमिका खेलिरहेको भनाइ पनि राखेका छन्।
सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले ‘ब्रिफिङ’ का क्रममा यस्तो भनाइ राखेका हुन्। बैठकमा सहभागि सएक सांसदले जनाए अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले एमालेले संसद्मा दोहोरो चरित्र देखाएकाले माओवादीका सांसदहरुको भूमिका सशक्त हुनुपर्ने बताएका थिए।
प्रचण्डले वैठकमा भनेका थिए, ‘एमालेले सदन चल्न दिएको छैन, तर उसले जनतालाई देखाउन बाहिर सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति भनिरहेको छ।
खासमा भित्रचाहिँ एमाले संक्रमणकालीन न्याय (टीआरसी) को विधेयक रोक्ने योजनामा छ।’ सहमति भएमा सोमबार नै संसद् सुचारु हुने पनि प्रधानमन्त्री प्रचण्डले बताएका थिए।
गत चैत ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्मा पेश भएको थियो। सरकारले दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न उक्त विधेयक ल्याएको हो।











