Kathmandu Press

संसदीय समितिको सभापतिमा मिल्याे भागबन्डा, रास्वपा र राप्रपालाई शून्य, अरु कुन दललाई कति?

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलको बैठकमा संसदीय समितिका सभापतिको भागबन्डा मिलिसकेको जानकारी दिएका हुन्।
संसदीय समितिको सभापतिमा मिल्याे भागबन्डा, रास्वपा र राप्रपालाई शून्य, अरु कुन दललाई कति?

काठमाडौं, साउन २२ : दलहरूबीच संसदीय समितिको भागबन्डा मिलेको छ। सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले भागबन्डा टुंगो लगाएको र आज शीर्ष नेताहरुले छलफलले त्यसलाई अन्तिम रुप दिने बताइएको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलको बैठकमा संसदीय समितिका सभापतिको भागबन्डा मिलिसकेको जानकारी दिएका हुन्।

माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष दाहालले भागबन्डा मितिसकेको जानकारी गराएको प्रमुख सचेतक हितराज पाण्डेले बताए। सहमतिअनुसार अनुसार नेपाली कांग्रेसले ४ वटा समिति सभापति पाउनेछ भने  एमालेका भागमा ३ र माओवादी केन्द्रका भागमा २ सभापति परेका छन्।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले एकएक सभापति पाउनेछन्।

संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समिति सभापति पाएनन्।यो प्रारम्भिक सहमति मात्रै भएको शीर्ष नेताको बैठकले अनुमोदन गरेपछि त्यसले अन्तिम रुप पाउनेउनले बताए।

प्रमुख सचेतकहरुमा भएको प्रारम्भिक सहमति अनुसार लेखा समिति, महिला समिति र राज्यका निर्देशक सिद्धान्त समिति सभापति एमालेले लिने र अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति कांग्रेसले पाउने सहमति भएको बताइएको छ।

यसैगरी कानुन र विकास समिति सभापति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समिति एकीकृत समाजवादीले पाउने भएका छन्।

समिति गठन भएको महिनौं बितिसक्दासमेत अहिलेसम्म दलहरूबीच सहमति नजुट्दा समितिले सभापति पाउन सकेको थिएन। सभामुख देवराज घिमिरेले समितिको नेतृत्व चयनका लागि दबाब दिँदै आएका थिए।

सभापति नहुँदा ज्येष्ठ सदस्यको सभापतित्वमा समितिका बस्दै आएको थियो। अब भने चाँडै समितिले सभापति पाउने परिस्थिति बनेको छ। 

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्