Kathmandu Press

सदनकाे अवरोध हटाउन सभामुख घिमिरेले साेमबार शीर्ष नेतासँग छलफल गर्ने

सचेतकहरूसँगकाे छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग छलफल गर्ने भएका हुन्।
सदनकाे अवरोध हटाउन सभामुख घिमिरेले साेमबार शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं, साउन २१ : सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्। सोमबार संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम तय भएको उनेको निजी सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले सदनको अवरोध हटाउने विषयमा आइतबार सचेतकहरूसँग छलफल गरेका छन्। तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग छलफल गर्ने भएका हुन्।

आजको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो। उनीहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए।

यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताए उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा अडान लिएका थिए।  

सभामुखको कार्यकक्षमा भएको छलफलमा कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमालेका सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका  सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही सहभागी थिए। बैठकमा माओवादी केन्द्रका प्रतिनिधि सहभागी थिएनन्।

प्रतिपक्ष एमालेका सांसदले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्