Kathmandu Press

कामु प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए।
कामु प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं, साउन २१ : न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्।

हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठ कामु प्रधानन्यायाधीश बनेका हुन्।

पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए।

उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने बताए। कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिंगो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरे।

संवैधानिक परिषद्ले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिसकेको छ भने संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरिसकेको छ। राष्ट्रपतिले नियुक्त गरेपछि श्रेष्ठ प्रधानन्यायाधीश बन्ने छन्। श्रेष्ठको कार्यकाल आगामी वर्ष २०८१ असोजसम्म हुनेछ।

न्याय सेवाको अधिकृत हुँदै जिल्ला न्यायाधीश, उच्च अदालतको न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका श्रेष्ठको कार्यकालमा अदालतमा रोकिएका कामहरु प्रारम्भ हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्