माओवादीले भदाैबाट तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने
बैठकमा अध्यक्ष प्रचण्डले आगामी भदौ १५ गतेसम्म सम्पूर्ण तयारी सक्ने र सबै वडामा १६ गते एकै दिन उद्घाटन गरिने बताए।
काठमाडाैं, साउन २१ : तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।
आइतबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न बैठकले जनतासँग माओवादी , विशेष रुपान्तरण अभियानको घोषणा गरेको हो। भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड समेत सात प्रदेशका सात वडामा जानेछन्।
बैठकमा अध्यक्ष प्रचण्डले आगामी भदौ १५ गतेसम्म सम्पूर्ण तयारी सक्ने र सबै वडामा १६ गते एकै दिन उद्घाटन गरिने बताए। बैठकले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ। जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष कृष्णबहादुर महरा, पार्टी एकता र समाजवादी मोर्चा, अग्निप्रसाद सापकोटालाई प्रचार प्रसार विभाग र पम्फा भुसाललाई जनवर्गीय संगठनको जिम्मेवारी दिइएको छ।
त्यस्तै पदाधिकारीको प्रदेश जिम्मेवारी पनि हेरफेर गरिएको छ। गैरप्रदेश र विशेष प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव वर्षमान पुनलाई दिइएको छ।
सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेश, बागमती प्रदेशको इन्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्मालाई दिइएको छ। त्यस्तै सुदूरपश्चिमममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णालीमा चन्द्रप्रकाश खनाललाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ।
बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले भावनात्मक रुपले भए पनि पार्टी एक ढिक्का भएको भन्दै माओवादी फेरि जाग्ने बताए। अब वडावडामा केन्द्रीय नेता पुग्नुपर्ने निष्कर्षमा पुगको भन्दै आफु पनि सातै प्रदेशका बिभिन्न सात वडामा जाने उहाले बताए।
प्रचण्डले जनताको सवै घरमा पुगेर तीन महिनापछि विधान सम्मेलनमा पुग्ने निष्कर्षमा पुगिएको जानकारी दिए।
त्यस्तै बैठकले समसामायीक प्रस्ताव पारित गर्दै भारतको उतराखण्ड प्रदेशमा गएको पहिरोमा परि मृत्यु भएका प्रति समवेदना प्रकट गर्दै बैपत्ताको खाजी तथा क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ। त्यस्तै लम्की रोग नियन्त्रणमा गम्भीर हुन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ।











