Kathmandu Press

१० दिने अभियान लिएर गाउँगाउँमा कांग्रेस 

१० दिने अभियानमार्फत पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्लाजिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले शनिबारबाट १० दिने अभियान नै सुरु गरेका छन्।
१० दिने अभियान लिएर गाउँगाउँमा कांग्रेस 

काठमाडौं, साउन २१ : सत्तारूढ दल नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न हेतु शनिबारदेखि गाउँ पसेको छ। गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गर्दै सांगठनिक सुधारका लागि कांग्रेसले गाउँगाउँमा पुगेर पार्टीलाई क्रियाशिल र लथालिङ्ग रहेको संगठनहरुलाई सुदृढ गर्न लागिपरेको हो। 

कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन। १० दिने अभियानमार्फत पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्लाजिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले शनिबारबाट १० दिने अभियान नै सुरु गरेका छन्।

कांग्रेस केन्द्रीय तहका नेता नै सरिक हुने उक्त १० दिने अभियानमा कांग्रेसको केन्द्रीय प्रतिनिधिहरु १६५ वटै निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी गराए। 

शनिबार काठमाडौंमा उक्त दश दिने अभियानको सुरुवात गर्दै सहमहामन्त्री आङ्देम्बेले कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणका एजेन्डामा तन्नेरी र बाबु पुस्ताबीच लडाइँ चलिरहेको स्वीकारे। आङ्देम्बेले भने, ‘अहिले बाबु पुस्ताले नेतृत्व गरिरहेको छ। अर्को पुस्ता ५५ वर्ष उमेरभन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ,ले हस्तक्षेपकारी भूमिका देखाउन खोजिरहेको छ।’

अभियानमा कांग्रेसका प्रतिनिधिले १६५वटै निर्वाचन क्षेत्रमा जाने तथा जिल्लामा खटिएका नेताहरूबाट पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना लगायत गठन भएनभएको,स्थानीय सरकार र पार्टीबीचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्नेछन्।

त्यस्तै, केन्द्रीय प्रतिनिधिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने लगायतका क्रियाकलापमा सहभागि बनेर कांग्रेसको जिल्ला देखि स्थानीय तहको वास्तविकताबारे प्रतिवेदन तयार गर्ने बताइएको छ। 

कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो। १० दिने कांग्रेस अभियान साउन ३० गतेसम्म चल्नेछ।
 

प्रकाशित मिति: १६:४२ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्