नेकपा एसबारे झलनाथ खनाल– दक्षिणपन्थी र माओवादीको पिछलग्गु बन्दा स्वतन्त्र पहिचान बनाउन असफल
एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी दक्षिणपन्थी बनेको र माओवादी केन्द्रको पिछलग्गु बनेको आरोप उनले लगाएका छन्। डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्ने उनको भनाइ छ।
काठमाडौं, साउन २१ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूको पार्टी स्वतन्त्र पहिचान बनाउन असफल भएको बताएक छन्। एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी दक्षिणपन्थी बनेको र माओवादी केन्द्रको पिछलग्गु बनेको आरोप उनले लगाएका छन्। डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्ने उनको भनाइ छ।
शनिबारबाट सुरु पार्टी भएको स्थायी कमिटी बैठकमा खनालले पेस गरेको ‘वर्तमान परिस्थितिमा ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु’ शीर्षकको १६ पेज लामो दस्तावेजमा उनले भनेका छन्, ‘हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढ्यो, कार्यकर्तामा बरु एमालेतिरै जाने चिन्तन विकास भयो। चुनाव वर्गसंघर्षकै अभियान हो तर हाम्रो पार्टीले चुनावलाई वर्गसंघर्षको रुपमा देखेन।’
कार्यकर्तामा पलायनता, पदलोलुपता र हताशा रहेको उनले स्पष्ट पारेका छन्। ‘विद्रोह गर्दा हामीसँग जुन जनमत थियो, त्यो खुम्चिएको छ, उपचुनाव हुँदा हाम्रो पार्टीले उम्मेदवारसम्म उठाउन सकेन। युवा विद्यार्थी दिशाहीन छन्।’ उनले कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोका दिएको पनि उनले बताएका छन्। ‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए। त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो,’ उनले लेखेका छन्, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए। त्यसपछि ‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायनता बढ्दै गयो।’
एकीकृत समाजवादीका सांसदले सदनमा बोलेको नसुनिएको, मुख्य प्रतिद्वन्द्वीसँगै समाजवादी मोर्चालगायत गठबन्धन गरेर जाने प्रवृत्ति भएको, कार्यशैलीमा एमाले र जबजकै धङधङी रहेको आरोप पनि खनालले लगाए। पार्टीले प्रधान शत्रुको तुरुन्तै किटान गर्नुपर्नेमा जोड दिँदै उनले पार्टी फुटेपछिको दुई वर्ष बित्दासम्म विद्रोहको औचित्य पुष्टि गर्न नसक्नुको कारण खोजी गर्नुपर्नेमा उनले जोड दिएका छन्।
खनालले एमसिसी सम्झौतालाई कलंकको संज्ञा दिँदै भनेका छन्, ‘एमसिसी एउटा गम्भीर राष्ट्रिय मुद्दा थियो। अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अंग बन्ने कि नबन्ने भन्ने सवाल थियो। अमेरिकाले हामीलाई ५५ करोड दिने सवाल होइन, हामी सम्मानपूर्ण ढंगले दिन्छ भने अमेरिकाबाट ५५ अर्ब डलर पनि लिन तयार नै छौ तर जुन सर्त र स्वार्थ उसले त्यो सम्झौतामा अघि सारेको छ, त्यसलाई मानेर हाम्रो पार्टीले समेत नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलंक लगाउने काम गर्यो।’











