दुर्गा प्रसाईंसँग फिरौती माग्दै ज्यानको धम्की दिनेविरुद्ध मुद्दा
खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध अपरहण सम्बन्धी कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता भएको हो।
काठमाडौं, साउन २१ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपसहित एकजना युवाविरुद्ध काठमाडौं अदालतमा मुद्दा दर्ता भएको छ।
खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध अपरहण सम्बन्धी कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता भएको हो।
प्रसाईंलाई म्यासेज तथा फोनमार्फत ३० करोड रुपैयाँ फिरौती मागेको दाबी अभियोगपत्रमा छ। अभियुक्त गुरुङले नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा समेत मुद्दा दर्ता गरिएको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार २६ गते महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेको थियो।
उनले आफ्नै नागरिकता केरमेट गर्दै नाम फेरेर सीमकार्ड निकालेर फिरौतीका लागि प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको अभियोगपत्रमा जनाइएको छ। उनले समीर खान र रहेमान अलीको नाम उल्लेख गरेर दुई वटा सीम लिएको भेटिएको छ। अभियोग दाबी अनुसार पक्राउ परेका गुरुङले आफू प्रवेश लामा भएको बताउँदै फिरौतीका लागि प्रसाईंलाई म्यासेज पठाएका थिए।
प्रहरीले अभियोगपत्रसँगै गुरुङले फिरौतीका लागि मोवाइलमा पठाएको म्यासेज समेत अदालतमा पेश गरेको छ। म्यासेजमा लेखिएको थियो, ‘तपाईंको हत्या गर्नका लागि योजना बनेको छ। यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ। डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ। नत्र अपहरण गरी हत्या हुन्छ।’ गुरुङ ८ वर्ष साउदी अरबमा बसेर आएका थिए।











