संवैधानिक अंगमा आयुक्त र सदस्यका लागि आवेदन खुला
परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र मुस्लिम आयोगको सदस्यको माग गरेको छ। सूचनामा एकभन्दा धेरै पदमा पनि आवेदन दिन सकिने भनिएको छ।
काठमाडौं, साउन २१ : संवैधानिक परिषदले संवैधानिक निकायका आयुक्त र सदस्यहरु माग गर्दै आवेदन खुलाएको छ।
संवैधानिक परिषद्को सचिवालयले आइतबार सार्वजनिक सूचनामार्फत चारवटा पदका लागि आवेदन खुलाएको हो। परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र मुस्लिम आयोगको सदस्यको माग गरेको छ। सूचनामा एकभन्दा धेरै पदमा पनि आवेदन दिन सकिने भनिएको छ।
संवैधानिक निकायमा नियुक्त हुन योग्य नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने छन्। योग्य उमेदवारलाई प्रतिश्पर्धाका आधारमा छनोट गर्न आवेदन खुलाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको फारम भरेर बुझाउन सकिने छ।
प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिससँगै संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यी निकायहरूमा कम्तीमा एकजना महिला नियुक्त गर्ने सहमति पनि भएको थियो।
यसअघि पनि गत साउन १८ गते महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि संवैधानिक परिषद्ले आवेदन खुलाएको थियो।











