प्रधानमन्त्री दाहाल र मोदीबीच टेलिफोन वार्ता
शनिबार अपराह्न दुवै प्रधानमन्त्रीहरुबीच नेपाल–भारत सम्बन्धको विविध पक्षमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
काठमाडौं, साउन २० : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेका छन्। शनिबार अपराह्न दुवै प्रधानमन्त्रीहरुबीच नेपाल–भारत सम्बन्धको विविध पक्षमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
‘आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्नधानमन्त्रीको भ्रमणको क्रममा भएको सहमति कार्यान्वयनको विषयमा छलफल भएको हो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।
दुई प्रधानमन्त्री बीच जलस्रोतलगायत विषयमा भएको सहमति कार्यान्वयनको अवस्था बारेमा कुराकानी भएको बताइएको छ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले दुवै देशका सरकार प्रमुखबीचमा सहमति कार्यान्वयनका विषयमा छलफल भएको जनाएको छ। गत जेठमा प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सहमति भएको थियाे ।











