पार्टीमा कसैले प्रचण्डको विकल्प खोजेको छैन : वर्षमान पुन
‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु। पार्टीमा विचारको नभई विधिको समस्या छ।’
काठमाडौं, साउन २० : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नखोजेको बताएका छन्। प्रचण्डलाई सहयोग गर्न आफू तयार रहेको उनले स्पष्ट पारे।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा उनले भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु। पार्टीमा विचारको नभई विधिको समस्या छ।’ उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जानु पार्टीको आवश्यकता रहेको उनको भनाइ थियो। उनले पार्टी संगठनमा तीन एक अर्थात् पाका, प्रौढ र युवा नीति लागू गर्नुपर्ने प्रस्ताव गरे।
उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेकाले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि नरोकिने र रोक्न नहुने जिकिर गरे। ‘छानबिनमा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्ने उनको भनाइ थियो।











