राष्ट्रिय हित र मानवताका सवालमा सरकारसँग सहकार्य गर्न एमाले तयार : ओली

काठमाडौं, साउन २० : एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय हित र मानवताका सवालमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
शनिबार नेकपा एमालेको विदेश विभागले आयोजना गरेको नेपालको परराष्ट्र नीति सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले नेपाल र नेपालीको आवश्यकता, राष्ट्रिय हितका लागि सरकार, अन्य जुनसुकै दलले ल्याएका कुरालाई आफ्नो पार्टीको समर्थन रहने तर सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने विषयलाई भने समर्थन नगर्ने बताए।
उनले सरकारले छिमेकी देशहरूसँग गर्ने सहमति सम्झौताका विषयमा सबैले थाहा पाउनुपर्ने भए पनि त्यो परम्परा नभएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि मात्रै सम्झौता-सहमतिहरू भएको आरोप उनले लगाए।
इपिजी प्रतिवेदन, भारतले विवादित बनाउन खोजेको सीमाक्षेत्रका विषयमा कुरा उठाएर समाधानका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो।
‘अस्ति प्रधानमन्त्रीको भारत भ्रमणमा इपिजीबारे कुरा नै उठाएनन्। नेपाली भूमिलाई विवादित बनाउन खोजिएको छ। कुरा नै उठाइएन,' उनले भने, 'सत्ता स्वार्थ केन्द्रित भयो राष्ट्रिय हित केन्द्रित भएन। यसमा राष्ट्रिय सहमति हुनुपर्थ्यो। तर त्यो राष्ट्रिय हितमा हुनुपर्छ। अन्यथा नेकपा एमालेलाई मान्य हुँदैन।’
उनले नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा आलोचनासमेत गरे। ‘भारतलाई त्यो न्यूट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो। न्यूट्रालिटी हाम्रो शक्ति हो। हामी शान्तिका पक्षधर हौं,’ उनले भने, ‘युद्ध नहोस् भन्ने कुरा भयो भने वार्ताबाट समाधान होस् भन्ने हुनुपर्छ।’











