‘सुप्रभात काव्यगोष्ठी’मा जनजीवनका आवाज
कविहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रमा देखिएका खराबीपनप्रति प्रहार गर्दै जनजीवनका आवाजलाई बुलन्द गरेका थिए।
काठमाडौं, साउन २० : नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक ‘सुप्रभात काव्यगोष्ठी’ को साउन महिनाको शृङ्खलामा आज कविहरुले समसामयिक चेतनाका कविता र रचना प्रस्तुत गरेका छन्।
कविहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रमा देखिएका खराबीपनप्रति प्रहार गर्दै जनजीवनका आवाजलाई बुलन्द गरेका थिए।

विसं २०६२/६३ को जनआन्दोलनमा सडकमा ‘सुप्रभात काव्यगोष्ठी’ गरेर साहित्यिक क्षेत्रबाट सघाएको सो संस्थाले बागबजारस्थित प्रतिष्ठानको सभाहलमा नयाँ स्वरुपमा शृङ्खलालाई निरन्तरता दिएको हो।

आजको शृङ्खलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला, नागार्जुनका संस्थापक अध्यक्ष वैरागी जेठा, अध्यक्ष दिल पौडेल, पूर्वअध्यक्ष प्रकाश सिलवाल, कविहरु माधव घिमिरे ‘अटल’, सुशीला शर्मा, सुष्मा देवकोटा, रामदेव पाण्डे, शन्तिराम योगी, राजेन्द्रमान डङ्गोल, गङ्गाप्रसाद भेटवाल, लक्ष्मणदेव पाण्डेलगायतले रचना प्रस्तुत गरे।

वाचित रचनामाथि टिप्पणी गर्दै समालोचक डा यज्ञेश्वर निरौलाले साहित्यिक जागरण र स्रष्टाहरुमा समयबोधसहित निखारपनका लागि यस प्रकारको गोष्ठीको ऐतिहासिकता रहने बताए।

तस्बिर सौजन्य : दिल पौडेल, अध्यक्ष, नागार्जुन साहित्यिक प्रतिष्ठान












