त्रिविले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
अन्तर्राष्ट्रिय मान्यताअनुसार अंग्रेजी भाषामा प्रश्न बनाउनै पर्ने बताउँदै उनले त्यसमा नेपाली भाषा थप्न सकिने बताए ।
काठमाडौं, साउन २० : त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ।
परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले बताए।
‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, उपकुलपति डा बाँस्कोटाले भने।
अन्तर्राष्ट्रिय मान्यताअनुसार अंग्रेजी भाषामा प्रश्न बनाउनै पर्ने बताउँदै उनले त्यसमा नेपाली भाषा थप्न सकिने बताए । हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न भने नसकिने उले स्पष्ट पारे।
हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको ठूलो उक्त विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।











