मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा
मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन गर्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्त्वपूर्ण रहेको बताइन्।
काठमाडौं, साउन १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छिन्।
मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन गर्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्त्वपूर्ण रहेको बताइन्।
‘साधनस्रोतको सीमितताका बावजुद पनि आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ, चरम द्वन्द्वको समयमा सबै अप्ठ्यारोका बावजुद पनि जुन भूमिका निर्वाह गर्दै आएको छ, यो आफैँमा महत्त्वपूर्ण छ । मानव सेवाको काम पनि हो भन्ने मलाई लाग्छ, यो पुण्य कामका आधारमा तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ,’ उनले भनिन्, ‘मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा आयोगले बोलिदिने कुराले महत्त्वपूर्ण प्रभाव पार्थ्यो र राहत हुन्थ्यो।’
उनले मानवअधिकारलाई बाहिर भएका डकुमेन्टहरू पनि संकलन गरेर राख्न र अभिलेखलाई डिजिटलाइज गरेर राख्ने प्रबन्ध मिलाउन आग्रह गरिन्।
यस्तै, पूर्वप्रधानन्यायाधीश तथा आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आफ्नो सामर्थ्य र शक्तिलाई चिनेर काम गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरे।
उनले नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि इलान्का मेडागान्डा लावेले राष्ट्रिय मानवअधिकार आयोगले गरेको यो कार्यका लागि बधाई दिँदै तथ्यांक संकलन र दस्तावेजीकरणको धेरै महत्त्वपूर्ण र गाह्रो काम गरेकोमा प्रशंसा व्यक्त गरे।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आयोगसँग सहकार्य गर्न चाहेको बताउँदै आयोगको नयाँ भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अभिलेखालयमा मानवअधिकार आयोग स्थापनाको पृष्ठभूमि, हालसम्मका पदाधिकारीहरूको विवरण, द्वन्द्वकालमा आयोगले खेलेको भूमिका, अनुगमनका क्रममा भेट्टाएका महत्त्वपूर्ण सामग्री, अनुगमनका क्रममा कैद गरिएका तस्बिरलगायतका सन्दर्भ सामग्री राखिएका छन् ।











