उत्तराखण्डकाे पहिराेमा जुम्लामा ११ नेपाली वेपत्ता, बेपत्ताहरूको खोजीमा समन्वयका लागि गृहले लेख्याे परराष्ट्रलाई पत्र
गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाउँदा जुम्लाका ११ बेपत्ता भएकाे अनुमान छ ।
काठमाडौं, साउन १९ : भारतको केदारनाथ गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन्। पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन्।
बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन्। गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो ।
‘केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भयो,’ पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने । वेपत्ता भएकाहरुको नाम ठेगाना यकिन भइसकेको उनले बताए । वेपत्ता भएकाहरु व्यापारका सिलसिलामा केदारनाथ पुगेको उनले जानकारी दिए।
यसैबीच गृह मन्त्रालयले शुक्रबार बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले भारतीय समाचारलाई आधार मानेर बेपत्ता नागरिकको उद्धारको लागि समन्वय गर्न पत्राचार गरेको हो।
'भारतको हिमवाणी अनलाइन खबरमा केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,' गृहले लेखेको पत्रमा भनिएको ।
भारतीय सञ्चारमाध्यमले सो घटनामा ४ जनाको शव बरामद भएको र बाँकी १५ जना बेपत्ता रहेको जनाएको छ। उक्त अनलाइनले स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाएको छ।











