Kathmandu Press

महरामाथि छानविन गर्न माओवादी नेताकै माग

‘अनुसन्धानबाट ‘क्लिन चिट’ नपाएसम्म प्रश्न उठ्ने र आरोप लाग्नेक्रम चलिरहने भएकाले छानबिनबाटै यसको किनारा गर्नुपर्छ।’
महरामाथि छानविन गर्न माओवादी नेताकै माग

काठमाडौं, साउन १९ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको माग गरिएको छ।

महरा सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमै प्रश्न उठेको बताउँदै प्रतिनिधि सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले यस्तो माग गरेका हुन्।

सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने दाहालको भनाई थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले माओवादीको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेको पनि बताए। यस्तो अवस्थामा छानबिन गरेर प्रष्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘यदि अहिले छानबिन नगर्ने हो भने पार्टीले उन्मुक्ती दिएको भनि सधैं प्रश्न उठ्ने भएकाले त्यसको निवारणका लागि पनि छानबिन हुनुपर्छ,’ दाहालले भने, ‘अनुसन्धानबाट ‘क्लिन चिट’ नपाएसम्म प्रश्न उठ्ने र आरोप लाग्नेक्रम चलिरहने भएकाले छानबिनबाटै यसको किनारा गर्नुपर्छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समयअघि इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महराको नाम मुछिएको थियो।

सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय बाहिरिएको थियो। यो प्रकरणले माओवादी केन्द्रको बैठकमा पनि प्रवेश पाएको हो।

यसैबीच पूर्वसभामुख समेत रहेका पार्टी नेता अग्नि सापकोटाले बैठकमा पार्टीभित्र गम्भीर प्रश्नहरु देखिएको बताए। ‘बैठकमा शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म र पार्टीको गतिविधिका सन्दर्भमा समेत प्रश्न उठेको छ,’ सापकोटाले वैठकमा भने, ‘प्रश्न उठेपछि समाधान पनि खोज्नुपर्छ।’

 

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्