भारतको उत्तरखण्ड राज्यमा पहिरोमा परी १० नेपालीसहित १९ जना बेपत्ता
बेपत्ता भएकाहरुको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। यो क्षेत्रमा भारी वर्षाका कारण उक्त दुर्घटना भएको हो। भारी वर्षाका कारण स्थानीय प्रहरीलाई उद्धार तथा खोजी तीव्र बनाउन समेत कठिन भएको छ।
काठमाडौं, साउन १९ : भारतको उत्तरखण्ड राज्यमा पहिरोका कारण १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। पहिरोले एउटा होटल पुर्दा यस्तो घटना भएको हो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएअनुसार चर्चित तीर्थस्थल केदारधाम प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाएको हो। होटलमा रहेका जुम्ला र हुम्ला कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको दैनिक जागरणले जनाएको छ। बेपत्ता भएकाहरुको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। यो क्षेत्रमा भारी वर्षाका कारण उक्त दुर्घटना भएको हो। भारी बर्षाका कारण स्थानीय प्रहरीलाई उद्धार तथा खोजी तीव्र बनाउन समेत कठिन भएको छ।
बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको समाचारमा बताइएको छ। पहिरोले बगाएको उक्त होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए। उक्त होटलमा खाना खान गएका बेला पहिरो झरेको थियो।
प्रहरीले पहिरोमा पुरिएकामध्ये तीनजनाको शव मन्दाकिनी नदीको किनारबाट निकालेको छ। पहिरोमा परी होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएको जनाइएको छ। वीरबहादुरकै होटलमा खाना खाइरहेका नेपाली नागरिक धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्।
बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइए पनि उनीहरू नेपालको कुन जिल्लाका हुन् भनेर खुल्न सकेको छैन। बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी रहेका छन्।











