Kathmandu Press

सत्तामा गएकाको सम्पत्ति छानबिनदेखि सुन तस्करी प्रकरणमा मुछिएकाहरूकाे सवालसम्म

पार्टी रूपान्तरणका लागि सबैले आआफ्नो जिम्मेवारीअनुसार भूमिका खेल्न आवश्यक रहेकोमा उनीहरूले जोड दिए।
सत्तामा गएकाको सम्पत्ति छानबिनदेखि सुन तस्करी प्रकरणमा मुछिएकाहरूकाे सवालसम्म

काठमाडाैं, साउन १९ : माओवादी केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीका जारी छ। बुधबार सुरु भएको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले विभिन्न धारणा राखेका हुन्। बैठकमा बोल्न प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ। 

केन्द्रीय सदस्यहरूले पार्टी निरन्तर ओरालो लागेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसमा नेतृत्वदेखि कार्यकर्तासम्म जिम्मेवार रहेको बताएका छन्। पार्टी रूपान्तरणका लागि सबैले आआफ्नो जिम्मेवारीअनुसार भूमिका खेल्न आवश्यक रहेकोमा उनीहरूले जोड दिए। धेरैजसो नेताले केन्द्रीय समितिको संख्या २ अंकको बनाउनुपर्ने सुझाव समेत दिए। उनीहरूले पार्टीको नेतृत्वमा रहेको सरकारका कामकारबाहीप्रति भने प्रशंसा गरे।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले २०४६ सालयता सत्तामा गएका सबै नेताको सम्पत्ति छानबिन तथा भ्रष्टाचार निवारणका लागि सर्वशक्ति सम्पन्न आयोग निर्माण गर्नुपर्नेमा जोड दिए। नेपालको राजनीति, हरेक पार्टी, हरेक तहका नेताहरूलाई दलालहरूले गाँजेको बताउँदै उनले राजनीतिक शुद्धीकरणले पार्टी पनि शुद्धीकरण हुने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदन मूलभूत रूपमा सही भएको उनको भनाइ थियो।

केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताए। सो प्रकरणमा नेता कृष्णबहादुर महराले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने उनको भनाइ थियो। ‘उहाँले दोषी छैन भनेर पन्छिन मिल्दैन। बरु छानबिनका लागि उहाँले सिआइबीमा निवेदन दिनुपर्छ,’ दाहालको भनाइ एक केन्द्रीय सदस्यले भने, ‘भ्रष्टाचार र तस्करीको कलंकको भारी पार्टीले बोक्न सक्दैन।’

केन्द्रीय सदस्य सुबोधराज श्रीपालीले अध्यक्ष प्रचण्डको नाम लिँदै कतिपयले पार्टीमा गुट चलाउने प्रवृत्ति हाबी रहेको संकेत गर्दै यस्तो प्रवृत्ति पार्टीका लागि घातक हुने बताए। अर्का केन्द्रीय सदस्य वीरबहादुर कुँवरले पार्टीभित्र सङ्गठनात्मक समस्या रहेको स्पष्ट पार्दै माओवादी माओवादीजस्तो हुन नसकेको बताए।
केन्द्रीय सदस्य गोविन्द तिम्सिनाले पार्टीमा ‘कुमार’ र ‘गणेश’ प्रवृत्ति हाबी भएकाले सबै सुध्रनु जरुरी रहेको बताए। केन्द्रीय सदस्य सतीश मैनालीले टिआरसीको विषय अझै टुंगो लाग्न नसकेको भन्दै कानुन निर्माणको सवालमा पार्टीले सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याए।

केन्द्रीय सदस्य रामकुमार शर्माले मातृका यादव र गिरिराजमणि पोखरेलको टकरावले मधेसमा पार्टी ध्वस्त भएको बताए। उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा राम्रो काम गरेर धमाका मच्चाइरहेको टिप्पणी पनि गरे।

उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू पनि सच्चिने र पार्टीलाई पनि सच्याउँदै लैजाने प्रतिबद्धता जनाए। उनले पार्टीमा जायज प्रश्न उठाउन पाउनुपर्ने र कानुनभन्दा माथि कोही नहुने बताए। उनले शान्तिसम्झौता अनुमोदन भइसकेको भन्दै द्वन्द्वकालीन मुद्दा उचाल्न नमिल्ने विषय भएको बताए। उनले अहिलेको कठिन परिस्थितमा पार्टी जोगाउने प्रचण्ड मात्र भएको जिकिर गरे।

सचिव डिलाराम आचार्यले पार्टी समाजनुकुल चल्न सक्नुपर्नेमा जोड दिए। पार्टीमा रुपान्तरणको मुद्दा उठिरहने बताउँदै उनले विगतमा ठुला परिवर्तन भए तर जनताको जीवन बदल्न नसकिएको गुनासो गरे।

प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले गम्भीर सवाल उठाएका थिए। उनले व्यवहारमा विचार अभिव्यक्त हुने र व्यवहारले विचारलाई थप विकसित गर्ने चक्र नै भताभुङ्ग भएकाले माओवादी पार्टी ओरालो लागेको दाबी गरे। चौथो महाधिवेशन स्कुलका सबै घटक  वैचारिक, संगठनात्मक र सांस्कृतिक रूपमा गम्भीर संकटमा रहेको उनको भनाइ थियो। न्यौपानेले संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कतै नभएको उदाहरण पेस गर्दै उनले नेतृत्वले गलत ठाउँमा प्रयोग गरिरहेको जिकिर गरे।  


 

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्