प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रुपमा अनलाइन हुने
केही दिनअघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए।
काठमाडौं, साउन १९ : प्रहरी चारित्रिक प्रमाणपत्र लिन राहदानी विभाग त्रिपुरेश्वर धाउनुनपर्ने भएको छ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएपछि त्यस्ताे अवस्था आएकाे हाे।
केही दिनअघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए। आइतबार परराष्ट्रमन्त्रीले त्रिपुरेश्वस्थित कन्सुलर सेवा विभागको कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम छ।
अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छ्याएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ।
राहदानी विभागमा सेवाग्राहीको भिड कम गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्र मन्त्रालयले अग्रसरता देखाएकाे थियाे।











