श्रमजीवी पत्रकारका पक्षमा महासंघले थाल्याे आन्दोलन
महसंघले शुक्रबार श्रमजीवी पत्रकार समस्या सुनाउनका लागि प्रेस रजिष्टारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गर्दै प्रदर्शन गरेको हो।
काठमाडौं, साउन १९ : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन सुरु गरेको छ।
महसंघले शुक्रबार श्रमजीवी पत्रकार समस्या सुनाउनका लागि प्रेस रजिष्टारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गर्दै प्रदर्शन गरेको हो।
पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि बाध्य भएर आन्दोलनमा उत्रिन बाध्य भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए।
पत्रकारिता क्षेत्रको गुणस्तर र व्यवसायिक विकासको कुरा गर्दा श्रमको सम्मान हुने क्षेत्रका रुपमा अघि बढाउन प्रेस रजिस्ट्रारको कार्यालय पनि गम्भीर हुनुपर्ने उनले बताए।
उनले पत्रकारहरु तलब पाउन अदालत जानुपर्ने अवस्था आउन नदिन सरोकारवालाहरुको दबाबमूलक ध्यानाकर्षण गराइने उल्लेख गरे। प्रदर्शनपछि महासंघले सूचना तथा प्रसारण विभागमा ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घेराउ गरिने महासंघले जनाएको छ।











