सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी सिआइबीलाई
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सिआइबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएकाे उच्च सरकारी स्रोतले जनाएकाे छ।
काठमाडौं, साउन १९ : सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सिआइबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएकाे उच्च सरकारी स्रोतले जनाएकाे छ।
प्रधानमन्त्री दाहालले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सिआइबीमार्फत गर्न निर्देशन दिएकाे स्राेतकाे भनाइ छ।
राजस्व अनुसन्धान विभागले साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक सु बरामद गरेको थियो। यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन्। साे प्रकरणमा राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको थियो।