Kathmandu Press

माओवादी नेता भन्छन्– सरकारले थालेका जनप्रिय कामको समर्थन छ

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको उल्लेख गरेका छन्।
माओवादी नेता भन्छन्– सरकारले थालेका जनप्रिय कामको समर्थन छ

काठमाडौं, साउन १८ : नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको उल्लेख गरेका छन्।

सदस्यहरूले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको मूल ‘स्प्रिट’को समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनःनिर्माणका पक्षमा आ–आफ्ना सुझाव प्रस्तुत गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

सहभागीले पार्टीको ऐतिहासिक आठौं महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनःनिर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। सदस्यले पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिंगो पार्टी एकताबद्ध संकल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राखेको उनले बताए।

बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एवं प्रवक्ता महरासहित ५६ जनाले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राखेका थिए।

सो क्रममा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानन्त्री श्रेष्ठले अध्यक्षले प्रस्तुत गरेको प्रस्ताव समसामयिक रहेकाले सोको कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएका थिए। उक्त प्रस्तावमाथि आफ्नो दृढ समर्थन रहेको उल्लेख गर्दै उनले पार्टीलाई रुपान्तरण गरेर जानुपर्ने बताए।

केन्द्रीय सदस्य माधव सापकोटाले निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने, एउटै व्यक्ति बारम्बार लाभको पदमा बसिरहन नहुने, विधान सम्मेलन गरेर पार्टीलाई जनता केन्द्रित बनाउनुपर्ने बताए।

आज धारणा राख्ने केन्द्रीय सदस्यले सांगठनिक संरचनालाई भद्दा बनाउन नहुने, पार्टीमा उमेरहदको व्यवस्था लागू गर्नुपर्ने, लाभको पदमा पुगेको सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने, अनियमितता, भ्रष्टाचारमा संलग्नलाई पार्टीले जोगाउन नहुनेमा जोड दिएका थिए।

बैठकमा झंकार साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लोहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दिलीपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराम यादव, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दिलीप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदीप आचार्य, सुरेश आलेमगर, भगतबहादुर बडुवाल, कीर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरि पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, नीलकण्ठ तिवारी, विशाल खड्का, आइपी खरेल र नरेन्द्र न्यौपानेले धारणा राखेका थिए।

यस्तै राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, विमला सुवेदी, सन्तोष विष्ट, टेकबहादुर बस्नेत, नरबहादुर विष्ट, दुर्गाकुमारी विक, प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिवकुमार डाँगी, वीरबहादुर रावल, जगत् सिम्खडा, विजय भण्डारी, दलजीत श्रीपाली, रणेन्द्र बराइली, विष्णु विक, परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बुढा, विमल अधिकारी र गोम्बु शेर्पाले आफ्नो धारणा राख्नुभएको प्रवक्ता महराले जानकारी दिए।

बैठकको पहिलो दिन बुधबार १८ सदस्यले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा प्रस्तुत गरेका थिए। हालसम्म ७४ जनाले आ–आफ्नो धारणा राखेका छन् । बैठक शुक्रबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।

प्रकाशित मिति: २०:१४ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्