‘अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुरानै मन्त्रालयअन्तर्गत फर्काऔँ’
उनले कोशी प्रदेशमा पहिचानको लडाइँको प्रभाव बागमती, गण्डकी र लुम्बिनीमा पनि पर्न सक्ने भएकाले संवेदनशील हुनुपर्ने बताए।
काठमाडौं, साउन १८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाएर पहिले भएकै मन्त्रालयअन्तर्गत राखिनुपर्ने बताएका छन्।
काठमाडौंमा अयोजित एक कार्यक्रममा नेता कोइरालाले पार्टीले पहिलेकै मन्त्रालयअन्तर्गत दुवै विभागलाई फर्काउने भनी निर्णय गरेकाले यसमा ढिलाइ गर्न नहुने बताए। प्रजातान्त्रिक प्रक्रियालाई अवरुद्ध नगर्न पनि यी दुई विभाग पहिलेको मन्त्रालयअन्तर्गत राखिनुपर्नेमा उनको जोड थियो।
‘पार्टीले दुवै विभागलाई सम्बन्धित मन्त्रालयअन्तर्गत नै फर्काउने निर्णय गरेको छ, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि यो निर्णय कार्यान्वयन भएन, अहिले पनि पार्टी सरकारमा भएकाले यो निर्णय कार्यान्वयन गर्न ढिलाइ गरिनुहुन्न,’ नेता कोइरालाले भने।
ललिता निवास प्रकरणमा टिप्पणी उठाउने अधिकृत जेल जाने तर निर्णय गर्नेहरू बाहिरै हुँदा भ्रष्टाचार प्रकरणमा छानबिन र दोषीलाई कारबाही हुन्छ भन्ने जनताले विश्वास गर्न नसकेको उनले बताए।
कोशी प्रदेशमा चलिरहेको पहिचानको लडाइँप्रति सङ्केत गर्दै नेता कोइरालाले त्यसमा अलिकति चुके ठूलो क्षति हुने भएकाले सतर्क हुन आह्वान गरे। उनले कोशी प्रदेशमा पहिचानको लडाइँको प्रभाव बागमती, गण्डकी र लुम्बिनीमा पनि पर्न सक्ने भएकाले संवेदनशील हुनुपर्ने बताए।











