तस्करी प्रकरणमा उच्चस्तरीय समिति आवश्यक नरहेको सरकारकाे स्पष्टाेक्ति
प्रवक्ता शर्माले सरकारकै अग्रसरतामा सुन पक्राउ गरिएको भन्दै विभागले गरिरहेको अनुसन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन्।
काठमाडाैं, साउन १८ : सरकारले सुन तस्करी प्रकरणमा राजस्वले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेकी हुन्।
उनले सरकार यस घटनाको जरासम्म पुग्न लागेकाले उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले नदेखेको धारणा राखे। प्रवक्ता शर्माले सरकारकै अग्रसरतामा सुन पक्राउ गरिएको भन्दै विभागले गरिरहेको अनुसन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन्।
राज्यको एउटा निकायले छानबिन गरिरहेकै अवस्थामा अर्को समिति बनाउँदा छानबिन प्रभावित हुन सक्ने उनको भनाइ छ। त्यस्तै प्रवक्ता शर्माले एमालेले संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै छिट्टै अवरोध हट्ने विश्वास व्यक्त गरिन्।











