‘सरकारले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्छ’
बुधबार सुरु भएको केन्द्रीय समितिको बैठकको दोस्रो दिन उनले छानबिनको क्रममा पार्टीभित्रकै कोही दोषी देखिए पनि नजोगाउने बताए।
काठमाडौं, साउन १८ : उपप्रधान तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सल्लाहमा सरकारले भ्रष्टाचारको फाइल खोलेको र जाेकाेही मुछिए पनि नछाड्ने बताएका छन्।
बुधबार सुरु भएको केन्द्रीय समितिको बैठकको दोस्रो दिन उनले छानबिनको क्रममा पार्टीभित्रकै कोही दोषी देखिए पनि जोगाउनतिर नलाग्ने स्पषट पारेकाे बताइएकाे छ।
उनले अहिले सरकारले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए। सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताए।
श्रेष्ठले पार्टीभित्र रूपान्तरणको आवश्यकता पनि औंल्याएका छन्। उनले स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि बताए।
सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेका बेला पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको 'कनेक्सन’ रहेकाे चर्चा चलेकाे छ। प्रज्ञा भवन कमलादीमा जारी बैठकमा प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रम जारी छ। बुधबार १८ जनाले धारणा राखेका थिए।
बैठकमा सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्ध गराइएको छ। बुधबारबाट सुरु बैठक पाँच दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ।











