Kathmandu Press

गौर हत्याकाण्डका पीडितद्वारा काठमाडौं केन्द्रित आन्दोलनकाे चेतावनी

गौर हत्याकाण्ड पीडित संघर्ष समितिको बुधबार बसेको बैठकले आन्दोलनलाई व्यापक बनाउने र काठमाडौं केन्द्रित बनाउने निर्णय गरेको हो।
गौर हत्याकाण्डका पीडितद्वारा काठमाडौं केन्द्रित आन्दोलनकाे चेतावनी
फाइल तस्बिर

जनकपुरधाम, साउन १८ : गौर हत्याकाण्डका पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिको बुधबार बसेको बैठकले आन्दोलनलाई व्यापक बनाउने र काठमाडौं केन्द्रित बनाउने निर्णय गरेको हो।

संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले जारी गरेको विज्ञप्तिमा गौर हत्याकाण्डका पीडितहरुप्रति राज्य उदासीन रहेको उल्लेख गर्दै मागको सुनुवाइ नभए आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउन बाध्य हुने चेतावनी दिइएको छ।

‘‘सरकारको भूमिकामा सुधार नआए हाम्रो रौतहटमा जारी धर्ना कार्यक्रमलाई संघीय राजधानी काठमाडौंमा केन्द्रित गर्न बाध्य हुने विषय पनि यसै पत्रमार्फत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ। रौतहटमा जारी आन्दोलनलाई मधेसका थप जिल्लाहरुमा पनि अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।

१७ वर्षअघि तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना मारिएका थिए भने दर्जनौ व्यक्ति घाइतेसमेत भएका थिए। उक्त घटनालाई लिएर २५३ जनामाथि जाहेरी परेको थियो तर हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको पीडितहरुको आरोप छ।

दोषीहरुलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै साउन १२ गतेदेखि अनिश्चितकालीन आन्दोलन थालेको संघर्ष समितिको अगुवाइमा साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा पीडित परिवारले आमरण अनशन थालेका छन्।

प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्