साइनो वाङ्मय चौतारी नेपाल वार्षिकोत्सवमा पाँच कृति लाेकार्पण
कार्यक्रममा ७० जनाको संयुक्त संग्रह ‘साइनो चौतारी’, डा. छायादत्त न्यौपानेको ‘साइनो सिर्जना’, डा. सीता सुवेदी पन्थीको ‘साइनो सुमन’, शेखर अर्यालको ‘साइनो मन्जरी’ र जमुना कायस्थको ‘साइनोको मुनाहरू’ गरी पाँच कृति लोकापर्ण गरिएको थियो।
काठमाडौं, साउन १७ : साइनो वाङ्मय चौतारी, नेपालको पाचौं वार्षिकोत्सव सम्पन्न भएको छ। काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै साइनो वाङ्मय चौतारी पाचौं वार्षिकोत्सव मनायो।
कार्यक्रममा पाँच कृतिहरू ७० जनाको संयुक्त संग्रह ‘साइनो चौतारी’, डा. छायादत्त न्यौपानेको ‘साइनो सिर्जना’, डा. सीता सुवेदी पन्थीको ‘साइनो सुमन’, शेखर अर्यालको ‘साइनो मन्जरी’ र जमुना कायस्थको ‘साइनोको मुनाहरू’ लोकापर्ण गरिएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले साइनो विविध भाषामा सिर्जना भइसकेकाले यसले विश्वव्यापी स्थान बनाइसकेको बताए। नेपाली वाङ्मयमा स्थापित गर्नका लागि साइनोलाई अझै परिष्कृत गर्न सके यसले विश्वका र नेपालका पनि विभिन्न भाषाको विकास हुन सक्ने उनले बताए।
कार्यक्रममा साइनो समीक्षाका क्रममा प्राडा. षडानन्द पौड्यालले साइनो सिर्जनामा नेपाली मनमाटाको सुगन्ध लिएर विश्वव्यापी भइसकेकाले यसको विकासमा अझै तीव्रता दिनुपर्ने कुरामा जोड थिए। यस्तै, डा. यज्ञश्वोर निरौलाले साइनोलाई गेयात्मक बनाउन सके अझै लोकप्रयता बढ्ने विषयमा जोड दिए।
समीक्षक प्राज्ञ डा. कौशिला रिसालले प्रणेता न्यौपानेको साधना र आत्मविश्वासमा साथीहरूको सहयोगले साइनो विश्वका स्रष्टाप्रिय बन्न सफल भएकोमा बधाई दिएकी थिईन। विष्णु ज्ञवालीले साइनोको सानो संरचनामा जीवनको गहिराइ समेट्ने चुनौती रहेको उल्लेख गरे।
यस्तै, प्रा.डा. रामप्रसाद ज्ञवाली नेपाली साइनो विश्वमा फैलिन सकोस् भन्दै साइनो स्रष्टाहरुको सिर्जनात्मक क्षमता अझ झाङ्गिएर जाओस् भनी शुभकामना दिए भने साइनो प्रणेता छायादत्त न्यौपानेले साइनो कविता समस्त नेपालीको साझा सम्पदा भएको बताए।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. घनप्रसाद सुवेदी, प्राज्ञ डा. मधुसुदन गिरी, प्राज्ञ डा.कौसिला रिसाल, प्राडा. षडानन्द पौड्याल, प्राडा. रामप्रसाद ज्ञवाली, प्राडा. गोपिन्द्र पौडेल, डा. यज्ञश्वोर निरौला, साइनो कविताका प्रणेता डा. छायादत्त न्यौपाने बगर, पूर्वराजदूत झबिन्द्रप्रसाद अर्याललगायत उपस्थित थिए।












