धरान–इटहरी सडकखण्डमा चौधरीको गोली हानी हत्या गरेको आरोपमा दुई पक्राउ
उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ। उनीहरुका साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको छ
विराटनगर, साउन १७ : माेरङकाे विराटनगर महानगरपालिका-५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीया दीपक तिम्सिना र सुनसरीको धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङरहेको प्रहरीले जनाएको छ। उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ। उनीहरुका साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको छ।
यही साउन ५ गते सुनसरीको धरान–इटहरी सडकखण्डमा चौधरीको गोली प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्न तीनमध्ये पक्राउ परेका २ जनालाई प्रहरीले आज (बुधाबार) सार्वजनिक गरेको हो।
तिम्सिना जबर्जस्ती करणी मुद्दामा १० वर्ष र तामाङ लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति रहेको कोसी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले बताए। ती दुवै धरान–इटहरी सडकखण्डमा भएका चारवटा लुटपाटका घटनामा संलग्न रहेको पाइएको उनले बताए। बास्तोलाका अनुसार उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए ।
जन्मदिनको अवसर पारेर साथीसँग धनकुटाको मूलघाट घुमेर फर्कनेक्रममा उनीमाथि धरान–इटहरी सडक खण्डको सेउती खोलामा चौधरीमाथि गोली प्रहार भएको थियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।











