कोशीमा जुट्याे सहमति, तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने

विराटनगर, साउन १७ : कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने भएका छन्।
हिजाे (मंगलबार) मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले आज (बुधबार) ५ बजे शपथ ग्रहण गर्दैछन्। बिहान १० बजे नै शपथ ग्रहण गर्ने तयारी गरिए पनि काङ्ग्रेस र माओवादीभित्रको विवादले मन्त्री चयनमा ढिलाइ भएपछि बेलुका ५ बजेका लागि शपथ सारिएको हो।
उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलाएको बताइएकाे छ।
सरकार गठनका लागि संख्या नपुगेपछि मंगलबार सभामुखबाट राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको एक नेताले बताए।
अहिले मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको उनकाे भनाइ छ।











