निर्माणाधीन संसद भवनको प्रगतिमा सभामुखकाे असन्तुष्टि
बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
काठमाडाैं, साउन १७ : सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद भवनको प्रगतिमा असन्तुष्टि जनाएका छन्।
बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गरे। असोजसम्म निर्माणसम्पन्न गर्ने भएपनि हिउदे अधिवेशनसम्म पनि सम्पन्न नहुने देखिएको उनले बताए। सभामुख घिमिरेले अहिलेको संसद भवनमा देखिएको समस्या नयाँ भवनमा सरेपछि समाधान हुने भने पनि समयमा नै सम्पन्न हुन नसक्दा असहज भएको धारणा राखे।
छलफलका क्रममा विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले अहिले संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको जानकारी दिए। उनले ३ अर्व ७७ करोडको भुक्तानी भइसकेको बताए।
सिंहदरबारभित्र कुल १ सय ७३ रोपनी ८ आना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना सहितको नयाँ संसद भवन निर्माण भइरहेको छ।