Kathmandu Press

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकको सुरुवात गर्दै गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको बताए। सरकारले गरेको कामकारबाहीका कारण जनतामा आशाको सञ्चार भएको दाबी उनले गरे।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, साउन १७ : माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज (बुधबार) दिउँसो बैठक सुरु भएको हो।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकको सुरुवात गर्दै गठबन्धन सरकारले जनताको पक्षमा काम गरेको बताए। सरकारले गरेको कामकारबाहीका कारण जनतामा आशाको सञ्चार भएको दाबी उनले गरे।

साेही क्रममा उनले माओवादी केन्द्र अहिले पार्टीजस्तो नभएको बताए। पार्टीमा देखिएका चुनौतीलाई अवसरमा बदल्नुपर्ने भनाइ थियाे। त्यसका लागि कमजोरी स्विकार्न काेही डराउन नहुने उनले बताए।

उनले पार्टीलाई स्थापित गराउन सबै नेताकार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे।

बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन्। उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा बनाएका हुन्।

पार्टी महासचिव देव गुरुङ र अर्का उपमहासचिव तथा पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माले सांगठनिक प्रतिवेदनको मस्यौदा बनाएका हुन्।

केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट सय जना गरी जम्मा ७५८ सहभागी छन्। 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्