‘सरकारले विश्वासको मत प्राप्त गर्छ’
उनले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताए। उनले विश्वासको मतका लागि कुनै शंका–उपशंका नगर्न आग्रहसमेत गरे।
मोरङ, साउन १६ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएको छ।
दोस्रो पटक मुख्यमन्त्रीको नियुक्ति पत्र प्राप्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताए। उनले विश्वासको मतका लागि कुनै शंका–उपशंका नगर्न आग्रहसमेत गरे।
मुख्यमन्त्री थापाले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको प्रष्ट पारे।
उनले वर्तमान गठबन्धन सरकार चार वर्ष सञ्चालन हुनेमा ढुक्क रहन र जनताको समृद्धिमा सरकारले कार्य गर्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री थापाले प्रदेशमा राजनीतिक गणितका कारण अस्थिरता रहेको चर्चा गर्दै मुख्य चुनौती भनेको दलभित्र बहुमत नरहनु नै समस्या रहेको बताए। प्रदेशमा नौ जना मन्त्री नियुक्त गर्ने जानकारी दिँदै मन्त्रीमा नयाँ र पुराना अनुहार रहने बताए।











