कोशीका सभामुख गौतमले दिए राजीनामा, उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दै
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन गौतमले राजीनामा दिएको बताएका छन्।
मोरङ, साउन १६ : सत्तारुढ गठबन्धनलाई प्रदेश सरकार गठनका लागि बहुमत पु¥याउन कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्।
सभामुख गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा बुझाएका छन्। उनको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन गौतमले राजीनामा दिएको बताएका छन्।
राजीनामा दिएपछि गठबन्धन दलको समर्थनमा कांग्रेसका नेतम उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका दाबी पेस गर्न जाने तयारी थालेका छन्।
सभामुखबाट राजीनामासँगै गठबन्धन दल कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गर्न बहुमत पुगेको छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य हुन्छ । तर राप्रपाले गठकन्धनको सरकारलाई समर्थन नगर्ने प्रष्टपारिसकेकाले उनको सरकार ३० दिनका लागि मात्रै हुने देखिएको हो।











