सहमति जुट्न नसकेपछि सूचना टाँसेर संसद् बैठक स्थगित, अर्को बैठक साउन २२ मा
प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध कायमै राख्ने अडान लिएपछि आज दिउँसो १ बजे बसने भनिएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर स्थगित गरेका हुन्।
काठमाडौैं, साउन १६ : सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध कायमै राख्ने अडान लिएपछि आज दिउँसो १ बजे बसने भनिएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर स्थगित गरेका हुन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद् बैठक अवरोद्ध गर्दै आएको छ।
संसदमा देखिएको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासहित कार्यव्यवस्था परासर्म समितिमा छलफल गरेका थिए। घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग टोलिफोन संवाद गरेका थिए।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरुलाई आग्रह गर्नुभए पनि सहमति जुट्न सकेन।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षका मुख्य सचेतकले बैठक सञ्चालन गर्न आग्रह गर्नुभएको थियो भने विपक्षी दलका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताउनुभएको थियो ।
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिनको १ बजे बस्नेछ।











