Kathmandu Press

‘सत्ताका लागि सभामुखको राजीनामाले प्रदेशलाई संवैधानिक जटिलतामा लैजान्छ’

अध्यक्ष लिङ्देनले अहिले सत्ता राप्रपाको प्राथमिकता नभएको बताए। यसअघिका सरकारमा बसेर काम गर्ने प्रयास गरेको तर त्यो नटिकेकाले सरकारमा नजाने उनले प्रष्ट पारे।
‘सत्ताका लागि सभामुखको राजीनामाले प्रदेशलाई संवैधानिक जटिलतामा लैजान्छ’

मोरङ, साउन १६ : सत्ता प्राप्तिका लागि सभामुखको राजीनामा गराइए त्यसले कोशी प्रदेशलाई संवैधानिक जटिलतातर्फ लैजाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

नयाँ सरकार गठनका लागि कोशी प्रदेश प्रमुखले दिएको समयसीमा सकिनै लाग्दा सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिरहेका बेला अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले सोमबार भएको गठबन्धनका नेताहरुसँगको छलफलमा पनि आफूले सभामुखलाई राजीनामा गराएर संवैधानिक जटिलता ननिम्त्याउन सुझाव दिइएको बताए।

‘जसरी पनि सत्तामा पुग्न सभामुखलाई राजीनामा गराएपछि विश्वासको मत लिन बस्ने प्रदेशसभा बैठकको अध्यक्षता एमालेले गरिदिन्छ? एमालेले सभाको अध्यक्षता नगरिदिए प्रदेश जटिलतातर्फ जाँदैन?,’ उनको प्रतिप्रश्न थियो।

अध्यक्ष लिङ्देनले अहिले सत्ता राप्रपाको प्राथमिकता नभएको बताए। यसअघिका सरकारमा बसेर काम गर्ने प्रयास गरेको तर त्यो नटिकेकाले सरकारमा नजाने उनले प्रष्ट पारे।

उनले कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन सुझाव दिए। उनले भने, ‘अहिले कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन सुझाव दिएका छौं । अहिले चलिरहेको संविधानको धारा १६८ को उपधारा (२) को प्रक्रियामा राप्रपाको कुनै चासो छैन र उपधारा (३) र (५) बाँकी छ।’

अहिले राप्रपाले कुनै दललाई सहयोग र विरोध नगर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो।

कोशीमा अहिलेको अवस्था आउनुमा संविधानमा भएको प्रदेशको व्यवस्था नै प्रमुख कारक भएको उनले बताए।

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, साउन १६, २०८०