Kathmandu Press

संसद्काे अवराेध हटाउन प्रधानमन्त्री दाहाल र ओलीसँग सभामुखले गरे टेलिफोन संवाद

साउन १० गतेदेखि देखिएको संसदको गतिरोध हटाउन सभामुख घिमिरेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग टेलिफोन संवाद गरेका गरेका छन्।
संसद्काे अवराेध हटाउन प्रधानमन्त्री दाहाल र ओलीसँग सभामुखले गरे टेलिफोन संवाद

काठमाडौं, साउन १६ : प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन्।

प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गर्दै आएको छ। एमाले आफ्नो अडानबाट पछि नहटेपछि सोमबारका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो।

साउन १० गतेदेखि देखिएको संसदको गतिरोध हटाउन सभामुख घिमिरेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग टेलिफोन संवाद गरेका गरेका छन्।

टेलिफोन संवादमा सभामुख घिमिरेले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन दुवै नेताको ध्यानाकर्षण गराएको सभामुखका प्रेस सल्लाहका शेखर अधिकारीले जनकारी दिए।

टेलिफोन संवादमा दुवै नेतालाई घिमिरेले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ स्मरण गराएको उनले बताए। सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक अगाडि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन्।

सोमबार पनि सभामुख घिमिरेले सदनको अवरोध हटाउन प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक र सचेतकहरुसँग पनि पटक पटक छलफल गरेका थिए ।

प्रकाशित मिति: ११:११ बजे, मंगलबार, साउन १६, २०८०