सुन तस्करीमा मुछिएका दावा छिरिङसँग नाम जोडेर मेरो चरित्र हत्या गरियो : वर्षमान पुन
पुनले सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको दाबी पनि गरेका छन्।
काठमाडौं, साउन १५ : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दावा छिरिङसँग नाम जोडेर आफ्नो सार्वजनिक छविमाथि आक्रमणसँगै चरित्र हत्या गरिएको बताएका छन्।
पुनले सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको दाबी पनि गरेका छन्।
बेल्जियन भए पनि नेपाली नागरिकता पनि लिएको भनिएका दावा आइतबार पक्राउ परेका थिए। क्विन्ट सुन तस्करी प्रकरणमा मुछिएको भन्दै दावालाई पक्राउ गरिएपछि उनको सम्पर्क माओवादी केन्द्रका नेताहरूसँग जोटिएको र त्यसमा वर्षमान पनि रहेको चर्चा चलिरहँदा उनले आफ्नो चरित्र हत्या भएको बताएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी पदाधिकारी बैठकमा पुनले उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्नेमा जोड दिए।
आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहिद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको पुनले बताए । ‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ नेता पुनले भनेका छन्, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’
भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति दिन नहुने बताउँदै उनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने उल्लेख गरे। पुनले यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए। उनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गरे।
‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन,’ उनले भने, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोऊँ। हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’ सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको बताए।











