माओवादीले केन्द्रिय समिति बैठक लाइभ गर्ने
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो।
काठमाडौं, साउन १५ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो।
यसअघि अर्को सत्तारुढ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसपछि अन्य पार्टीहरुलाई पनि बैठक लाइभ गर्न दबाब परेको थियो।
यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने सचिव दिनानाश शर्माले बताए।
आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ। केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय हुने शर्माले बताए।
त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने बताइएको छ। यसपटक केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ।
अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ।











