Kathmandu Press

देशभरिमा ८५ प्रतिशत मनसुनी वर्षा

देशभरिमा ८५ प्रतिशत मनसुनी वर्षा

काठमाडाैं, साउन १४ : वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ।

शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ। उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिए।

'देशभर हालसम्म सरदरको ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ। जुन सरदरभन्दा कम वर्षा हो”, मौसमविद् हुमागाईंले भने।

मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ। यसअघि विगतका वर्षभन्दा यो वर्ष सरदरमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ। शाखाका अनुसार यो बीचमा विशेषगरी तराईका भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ।

त्यसैगरी ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको आँकडामा  सरदरभन्दा बढी वर्षा भएको छ। ताप्लेजुङ, काठमाडौँ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ भने सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ।
     
मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ। मौसम विभागले सन् १९९१ देखि २०२० सम्म ३० वर्षको अवधिको तथ्याङ्गका आधारमा विभिन्न मौसम मापन केन्द्रबाट आएको विवरणका आधारमा मौसम विवरण दिने गरेको छ।

नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो। मनसुन प्रभावकारी नहँुदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको थिएन। विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्