महिलालाई स्वरोजगारमूलक कार्यक्रम ल्याउन मुख्यमन्त्री चौधरीकाे आह्वान
थारु, दलित, वादी, जनजातिलगायतका समुदायको आय स्तर वृद्धिका लागि बजेट डिजाइन गरेको बताउदै चौधरीले उत्पादन र स्वरोजगारमूलक कार्यक्रम ल्याउन महिलाहरुलाई आह्वान गरे।
दाङ, साउन १४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आयआर्जनका योजना बनाएर आए प्रदेश सरकारले बजेटको अभाव हुन नदिने बताएका छन्।
नेपाल महिला संघ दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले विभिन्न समुदायलाई लक्षित गरी प्रदेश सरकारले बजेटको व्यवस्था गरेकाले त्यसै अनुरुप योजना लिएर आउन महिला तथा युवाहरुलाई आग्रह गरेका हुन्।
थारु, दलित, वादी, जनजातिलगायतका समुदायको आय स्तर वृद्धिका लागि बजेट डिजाइन गरेको बताउदै चौधरीले उत्पादन र स्वरोजगारमूलक कार्यक्रम ल्याउन महिलाहरुलाई आह्वान गरे।
१ अर्ब बजेट महिलाहरुको आयआर्जनका लागि छुट्याएकाले महिलाहरूलाई घरघरमा उत्पादनका कार्यक्रम ल्याउन सुझाव दिए। यसअघि धेरैजसो बजेट सडकमा खर्च हुने गरेको भन्दै मुख्यमन्त्री चौधरीले उद्यमशीलतामा जोड दिन महिलालाई प्रोत्साहन गरे।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नेपालको संविधानले उल्लेख गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गर्न प्रदेश सरकारले जिल्लाका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएको बताए।
कार्यक्रममा महिला नेतृहरुले कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारले सरकार भएको अनुभूति दिने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए।











