प्रमुख एसएसपी कार्की र एसपी बस्नेतलाई सर्वोच्चको क्षमादान
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमारप्रसाद चुडालको संयुक्त इजलासले उनीहरुलाई सर्वोच्चमै उपस्थित गराएर क्षमादान दिएको हो।
काठमाडौं, साउन १४ : सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी एक मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतलाई क्षमादान दिएको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमारप्रसाद चुडालको संयुक्त इजलासले उनीहरुलाई सर्वोच्चमै उपस्थित गराएर क्षमादान दिएको हो। सर्वोच्च अदालतले यसअघि गत २०७९ फागुन ११ गते तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंका नाममा बयानमा उपस्थित हुन आदेश गरेको थियो।
कार्की र बस्नेत एक बर्ष अघि भएको उच्चको आदेश अनुसार जाहेरी सम्बन्धी एक विवादको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गर्दै सर्वोच्चमा उपस्थित भएको थिए। त्यसपछि न्यायाधीश खतिवडा र चुडालको इजलासले क्षमादान गरेको हो।
भक्तपुर जिल्ला अदालतत र तत्कालीन पुनरावेदन अदालत पाटनले श्रीमान श्रीमतीविचको झगडामा श्रीमतीको पक्षमा फैसला गरेपछि श्रीमान् र सासूले विवाह दर्ता, अस्पताल भर्ना, बच्चाको जन्मसहितका सबै कागज किर्ते भएको दाबीसहित काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका थिए।
प्रहरीले भने उजुरी नै गलत भएको भन्ने आधारमा मुद्दा नचलाएपछि विवाद गिजोलिन पुगेको थियो। त्यसपछि अनुचित विलम्ब गरेकाले शीघ्रता प्रदान गरी पाउन मागसहित पुनरावेदन अदालतमा रिट निवेदन परेको थियो।











