उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको छ : प्रधानमन्त्री दाहाल
आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहे पनि नभेटिएको उनको भनाइ छ।
काठमाडाैं, साउन १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताएका छन्।
समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले त्यस्ताे बताएका हुन्।
तत्कालीन नेकपा नेतृत्वको सरकारको समयमा तयार भएको सो प्रतिवेदन सार्वजनिक भएको छैन। तत्कालीन पार्टीको बहुमत सदस्य सार्वजनिक गरी कार्यान्वयन गर्न तयार भए पनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए।
आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहे पनि नभेटिएको उनको भनाइ छ। आफूले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि सो प्रतिवेदनबारे चासो राखेको बताए। उनले (पोखरेल) ले एक प्रति पनि नराखी बुझाएको जानकारी दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
शान्तिपूर्ण र सशस्त्र सङ्घर्षबाट ठूलो राजनीतिक परिवर्तन गरेको र शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य अधिकारजस्ता विषयलाई मौलिक रुपमा स्थापित गर्नुपर्छ भनेर संविधानमा लिपिबद्ध गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले संविधान प्रदत्त समाजवादलाई व्यावहारिकरुपमा कार्यान्वयनको सुरुआत गरिने बताए।
शिक्षा क्षेत्रमा समाजवादको भ्रुण स्थापना गर्ने तयारीका साथ सरकारले केही महत्वपूर्ण काम अगाडि बढाउन लागेकोसमेत उनले जानकारी दिए। समाजवादी मोर्चा बनेपछि पनि अनेकन खालका भ्रम सिर्जना गर्ने र नेताहरुकाबीचमा फाटो पार्ने अनेकन कोशिस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ती सबै षड्यन्त्रलाई पराजित गरेर अगाडि बढ्न नेतृत्व पङ्क्ति तयार रहेको बताए।











