Kathmandu Press

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री

काठमाडाैं, साउन १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्।

समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, 'राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।'

भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाईं नभएकाले त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको उनले स्पष्ट पारे। प्रधानमन्त्री दाहालले भने, 'यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ।' अहिलेका अभियान बेपत्ता, घाइते र अपाङ्गको सपना साकार गर्ने लडाईंका रुपमा उनले चित्रण गरे।

सङ्घीय शिक्षा विधेयक मंगलबार संसदमा 

प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा विधेयक आगामी मङ्गलबाार सदनमा पेस गरिने जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले सो विधेयक पारित गरेर सदनमा पेस गर्ने र शिक्षा क्षेत्रमा सुधारका लागि नयाँ मार्ग तय गरिने उनले उल्लेख गरे। सो विधेयकले शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याको समाधान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ। 

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगका अध्यक्षलगायत अन्य विश्वविद्यालयमा खाली रहेका पदाधिकारीको पनि छिट्टै पदपूर्ति गरिने प्रधानमन्त्री दाहालले बताए।

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्